बुटवल,१६ असोज।प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन ।
रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ प्रदेश ५ को स्थायी राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सहमति भएलगत्तै प्रदेश ५ सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
प्रदेशको राजधानी बन्ने भएपछि दाङका सम्पुर्ण उध्योगी, व्यापारी, नागरिक समाज तथा स्थानियले उक्त निर्णयको स्वागत गरेका छन।
तर बुटवलमा भने उक्त निर्णयको बिरोधमा आन्दोलन शुरु भएको छ। बुटवलको नेपालगञ्ज रोड प्रदेश सभा प्रवेश गर्ने द्वारमा युवाहरुले स्वतन्त्र रुपमा टायर बाल्दै प्रदर्शन गरेका थिए। उनीहरुले प्रदेश राजधानी सार्न पाइदैन भन्दै नाराबाजी गरेका थिए।
प्रदेश सरकारले प्रदेश सभामा प्रस्ताव पेश गर्नुअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुरक्षा अधिकारीहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा बनाउन र आन्दोलनहरुलाई नियन्त्रण गर्न निर्देशन दिएको थियो।