काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक काठमाडौं उपत्यका बाहिर सञ्चालन हुदैछ । घरेलु लिगको संरचनामा सुधार हुन नसकिरहेको बेला लिग फुटबल पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो ।
नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा विकास गर्दै पहिलो ‘होम गेम’ आयोजना गर्दैछ ।
मनाङले आज पहिलो खेलमा विभागीय टिम पुलिसलाई आतिथ्यता प्रदान गरेको छ । मनाङ नेपाली फुटबलमा काठमाडौं उपत्यका बाहिर घरेलु मैदानमा लिग सञ्चालन गर्ने पहिलो क्लब बनेको छ ।
शनिबार दिउँसो मनाङले पुलिससँग पोखरा रंगशालामा खेल्दै घरेलु फुटबलमा नयाँ इतिहास कायम गर्नेछ । पुलिससँगै मनाङले ब्रिगेड ब्वाइज र च्यासलसँग समेत पोखरा रंगशालामा खेल्नेछन् ।