वेस्ट ह्यामलाई पराजित गर्दै म्यान्चेष्टर सिटी दोश्रो स्थानमा उक्लियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इल्काई गुन्डोवान र फर्नान्डिन्होले एक एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए ।

गुन्डोवान खेलको ३३ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा लान्जिनीले एक गोल फर्काएपनि सिटीले २-१ को जित निकाल्यो ।

यस जितसँगै सिटी १३ खेलमा २९ अंक जोडेर दोश्रो स्थानमा उक्लिएको छ।

वेस्ट ह्याम २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।