बायर्नको शत प्रतिशत जित, बार्सिलानो बेन्फिकासंग रोकियो

एजेन्सी। जारी च्याम्पियन्स लिगमा बायर्न म्युनिखले शत प्रतिशत जित निकालेको छ। मंगलबार राति भएको खेलमा बायर्नले डाइनामो कएभलाई २-१ ले हराएको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र किङ्सले कोमानले एक एक गोल गरे । किएभका डेनिस हरमासले एक गोल फर्काएका थिए ।

खेलको १४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा कोमानले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा किएभका हरमासले गोल गरेपनि बायर्न २-१ ले विजयी भयो ।

बायर्न १५ अंक जोडेर समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ । बायर्न यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

त्यस्तै मंगलबार राति भएको अर्को खेलमा बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरी खेलेको छ।

यस बराबरीसँगै बार्सिलोनाले नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।अन्तिम खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने छ ।