नेपाल पहिलो खेलमा इरानसँग पराजित

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

सोमबार भएको खेलमा नेपाल बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहोर्यो । इरानको जितमा होसेनले दुई गोल गरे । मेहदी र यासिनले एक एक गोल गरे ।

मेहदीले ४६ औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा होसेनले गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ७९ औं मिनेटमा होसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा कप्तान यासिनले गोल गर्दै इरानलाई ४-० को जित दिलाए ।

यस जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।