माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उदघाटन आज

काठमाडौँ, २१ असार। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट औपचारिक रूपमा बिजुली उत्पादन गर्ने भएको छ ।

कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।

आयोजनाले हिजो मात्रै विद्युतगृह रहेको गोंगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ भने अस्ति ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरिएको थियो ।

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोंगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर र त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना ५ वर्षमा सक्ने भनीए पनि ११ वर्षमा पूरा भएको हो । यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।