यो वर्ष हालसम्म बाढी-पहिरोबाट ३९ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडाैं, २० असार । सरकारले यस वर्ष मनसुन सुरू भए यता प्राकृतिक बिपतबाट ३९ जनाको मृत्यु भएको जनाएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिदैं गृहमन्त्री बिष्णु पौडेलले देशका विभिन्न जिल्लाहरूमा मनसुनजन्य विपद्का २२६ घटना भएको र बिभिन्न २२ जिल्लामा ३९ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । त्यस्तै ३१ जना बेपत्ता र ४६ जना घाइते भएको उहाले बताउनुभयो ।

मनसुनजन्य विपद्‍बाट घरवार बिहीन भएकाहरूको निजी आवासको पुनर्निर्माणका लागि घर पुनर्निर्माण गर्न अनुदान उपलब्ध गराउने उहाले बताउनुभयो ।

मन्त्री पौडेलले मनसुनजन्य विपद्‍बाट विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५७२ घरपरिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्थाका लागि प्रति परिवार रु. ५० हजारको दरले रू. २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

उहाले राहत र पुनस्र्थानामा तथा मानविय प्रश्नमा सरकारले राजनीति नगरेको जिकिर गर्नुभयो । राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको उहाको भनाई छ । उहाले राहत वितरणलाइ एकद्धार नीति बनाइने पनि बताउनुभयो । उहाले सरकार प्रो एक्टिभ भएर परिचालित भएको धारणा राख्नुभयो ।

यस्तै बैठकमा राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट दोश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको अर्को बैठक असार २१ गते सोमबार १ बजे बोलाइएको छ ।