मनकामना स्मार्ट लघुवित्तको आईपीओमा करिब १८ लाखको आवेदन

काठमाडौ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ६ः१५ बजेसम्ममा सो बराबरको आवेदन परेको हो ।

लघुवित्तको आइपीओमा २ अर्ब ३२ करोड ७ लाख रुपैयाँ बराबरको २ करोड ३२ लाख ७ हजार ४६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ६३.८५ गुणा बढी हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

असार १७ गतेदेखि बिक्री खुला भएको लघुवित्तको आईपीओमा भोलि सोमबार असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।