युरोकपको उद्घाटन खेलमा इटालीको बिजयी सुरुवात

एजेन्सी । इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।

डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए । युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो ।

६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २-० गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए ।
यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा रहेको छ ।