लगातार दुई दिनको करेक्सनपछि नेप्सेमा पुनः उछाल

काठमाडौं.१९-जेठ । सोमबार र मंगलबार लगातार घटेको सेयर बजार बुधबार पुनः बढेको छ । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।

कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । मंगबलार ९ अर्ब भन्दा पनि कम भएकोमा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका छन् । दुई दिन लगातार जसो हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो । बुधबार भने सुधार देखिएको छ ।

कारोबार रकमका आधारमा पुनर्बिमा कम्पनी आज पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको आज १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।