वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने  स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ।

यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।