मध्य भोटेकोशीको आइपीओ वैशाख २१ गतेदेखि स्थानियहरुको लागि खुल्ने

काठमााडौं। मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ ।

यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याईएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदकले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

मध्ये भोटेकोशी जलविद्युत सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्ये भोटेकोशी आयेजना निर्माण गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ । यस परियोजनाको प्रतिमेगावट लागत १६ करोड ७० लाख रहेको छ ।