एमालेका अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज, मङ्सिरमा महाधिवेशन हुने

काठमाडौँ, २८ फागुन।नेकपा एमालेमा केन्द्रीय सदस्य थप गरिएको छ । माओवादी केन्द्रबाट आएका २३ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमालेको केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा ओली पक्ष मात्र उपस्थित रहेको बताइएको छ ।त्यस्तै एमालेको प्रवक्तामा प्रदीप ज्ञवालीलाई चुनिएको छ ।

बैठकले अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारीहरुलाई हटाएको छ । एमालेको अध्यक्ष केपी शर्मा ओली र महासचिवमा इश्वर पोखरेल रहेका छन् । सर्वोच्चको फैसलापछि ब्युँतिएको एमालेको पदाधिकारीमा नेपाल पक्षको बहुमत रहेको थियो ।

माओवादी केन्द्रबाट आएका नेता रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । यसअघि बागमती प्रदेशको इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्य रहेकी थिइन् ।

त्यस्तै बैठकले एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर २ गतेदेखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको छ ।