एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग खेल्दैछ ।
बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । तर, बलियो टिम पीएसजीविरुद्ध जित निकाल्न बार्सिलोनालाई कठिन हुनेछ ।
पीएसजी पनि बार्सिलोनालाई उसैको मैदानमा हराएर क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
तर, बार्सिलोनाविरुद्ध पीएसजीका स्टार स्ट्राइकर नेयमार खेल्ने छैनन् । यस्तै विंगर एन्जल डी मारिया समेत टिममा छैनन् ।
दुबै खेलाडी चोटको कारण टिम बाहिर रहेका छन् ।
मुख्य दुई खेलाडीको अनुपस्थितिमा पीएसजीविरुद्ध बार्सिलोनाले केहि सहज भने हुनेछ ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत नै प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगसँग खेल्नेछ ।
लिभरपुल र लाइपजिगबीचको खेल हंगेरीको पुस्कास एरिनामा हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।