रुरु जलविद्युतले पायो प्रिमियममा आईपीओ निष्कासनको अनुमति

काठमाडौं, २३ माघ । रुरु जलविद्युत परियोजना लिमिटेडले रु. ८ करोड बढीको आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसँगै अब यो कम्पनी कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।

कम्पनीले कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्कासन गर्ने छ। यो चुक्तापुँजीको २० प्रतिशतबराबर हुन आउँछ।

कुल कित्तामध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि रु. १०० अंकित दरका ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ।

दोस्रो चरणमा भने सर्वसाधारणका लागि कम्पनीले अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।