शिखर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

शिखर इन्स्योरेन्सले आ.व. २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

इन्स्योरेन्सको पुस २० गते बसेकाे सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हकप्रदपछि कायम चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँको २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

इन्स्याेरेन्सले गत आर्थिक वर्षकाे असार मसान्तसम्म कायम चुक्ता पूँजीकाे ३६.१ प्रतिशत बाेनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे।

यद्यपी, यस आर्थिक वर्षमा इन्स्याेरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातकाे चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएकाे हाे।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।