रोनाल्डोलाई ‘शताब्दीका खेलाडी’को अवार्ड

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दीका खेलाडी’ घोषित भएका छन् ।

दुबईमा भएको ग्लोब सकर अवार्ड अन्तर्गत रोनाल्डो शताब्दी खेलाडीबाट सम्मानित भएका हुन् । उनले लामो समयका प्रतिद्धन्दी लियोनल मेस्सीलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेका हुन् ।

दुबईको अर्मनी होटलमा आईतबार भएको समारोहमा युभेन्ट्सका स्टारले अवार्ड लिएका थिए । ३५ वर्षिया फरवार्डले स्पेन सहित ईङ्ल्याण्ड र ईटालीमा घरेलु लिग जित्नुका साथै युरो २०१६ मा पोर्चुगलबाट उपाधि हात पारेका थिए ।

सन् २००१ देखि २०२० सम्मको समयलाई आधार बनाएर शताब्दी अवार्डबाट पुरस्कृत गरिएको हो ।‘यो उपाधि जित्दा निकै अनुग्रही छु ।’ रोनाल्डोले भने ।

उनी पाँच पटकका बालेन डी ओरका विजेता समेत हुन् ।

‘धेरै वर्ष शिखरमा रहनु सजिलो छैन । म निर्क गर्व गर्छु । तर टिम बिना, राम्रो प्रशिक्षक बिना र क्लबबिना यो सम्भव छैन ।’ उनले भने ।

यस्तै, प्रशिक्षक पेप ग्वार्डीओलाले ‘शताब्दीका प्रशिक्षक’ अवार्ड प्राप्त गरे । स्पेन, जर्मनी र ईङ्ल्याण्डको शीर्ष डिभिजनको लिग जितेका ग्वार्डीओलाले दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

म्यान्चेष्टर सिटीका प्रशिक्षक अवार्ड समारोहमा उपस्थित थिएनन् । उनले भिडियो मार्फत अवार्ड स्विकार गरेको बताएका थिए ।

रोनाल्डो र मेस्सीले सन् २०२० को फिफा वर्ष खेलाडी अवार्ड प्राप्त गरेका थिएनन् । बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले सो अवार्ड जितेका छन् ।

यस्तै, बायर्नलाई बुन्डेसलिगा सहित, च्याम्पियनस लिग र डीएफबी पोकल सहित तेहेरो उपाधि जिताएका हान्सी फ्लिक वर्ष प्रशिक्षक घोषित भए ।

यस्तै, रियल मड्रिड शताब्दीकै क्लब घोषित भयो । यस्तै, सन् २०२० को टिम अवार्ड भने बायर्न म्युनिखले प्राप्त गर्यो ।

यस्तै, सन् २०२० को वर्ष एजेन्टको अवार्ड जर्ज मेन्डिसले प्राप्त गरे । उनी लामो समयदेखि रोनाल्डोको एजेन्टको रुपमा काम गरिरहेका छन् ।