क्रिस्टल प्यालेसमाथि लिभरपुलकाे सानदार जित

एजेन्सी । रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले समान दुई गोल गरेको खेलमा लिभरपुलले प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार राति क्रिस्टलको घरेलु मैदानमा लिभरपुलले ७–० को जित निकालेको हो ।

जितसंगै शीर्ष स्थानको एनफिल्ड क्लबले तालिकामा ६ अंकको स्पष्ट अग्रता लिएको छ ।

फिर्मिन्हो, सलाहा, तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले साविक विजेता क्लबबाट गोल गरे ।

खेलको तेस्रो मिनेटमै मिलामिनोले लिभरपुललाई अग्रता दिलाएका थिए । सेनेगरका फरवार्डले लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे । फिर्मिन्होले पहिलो हाफ सकिनु अघि काउन्टर आक्रमणमा गोल गरे ।

कप्तान हेन्डरसनले लिभरपुलका लागि चौथो गोल गरे । लगत्तै फिर्मिन्होले ब्यक्तिगत दोस्रो गोल थपे । सलाहाले खेल सकिन ९ मिनेट अघि हेडमार्फत लिभरपुललाई ६–० ले अघि बढाए । त्यसको तीन मिनेट पछि सलाहाले ब्यक्तिगत कोशिशमा दोस्रो गोल पुरा गरे ।

लिभरपुलले लगातार तेस्रो सिजन क्रिसमस अघि तालिकाको शीर्ष स्थानमा आफुलाई राख्न सफल भएको छ । क्रिस्टल १७ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।