सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा मागभन्दा झण्डै ७ गुणा बढि आवेदन

काठमाडौं, २५ असोज। सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा झण्डै ९ लाखले आवेदन गरेका छन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको छ ।

असोज २१ गते देखि २५ गते सम्म सर्वसाधारणको लागि खुल्ला गरिएको आईपीओमा हालसम्मकै धेरै आवेदन परेकाे छ। आईपिओमा लगानी गर्ने लगानीकर्ताकाे सँख्या दैनिक बढ्दाे छ। यसैकारणा हरेक सार्वजानिक निष्काशनमा आवेदन गर्ने लगानीकर्ताकाे सँख्याले नयाँ रेकर्ड कायम गर्दै आएकाे छ।

सानिमाको आइपीओमा १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैंया बराबरको १ करोड ९० लाख १२ हजार ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

मागभन्दा ६.९६ गूणा बढी आवेदन परेपछि शेयर बाँडफाँड फेरि पनि गोलाप्रथा हुने लगभग निश्चित देखिएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता शेयर छुट्याइएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।