युनाइटेडको पोष्टमा टोटेन्ह्यामको ६ गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि टोटेन्ह्यामले सान्दार जित हात पारेको छ ।

आइतबार राति १० खेलाडीमा सिमित युनाइटेडलाई टोटेनहमले ६-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले फराकिलो हार व्यहोरेको हो ।

खेलको दोस्रो मिनेटमै ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई टोटेनहमका सान्चेजले पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

तर, खेलको चौंथो मिनेटमा टानगुए एनडोमबेलेले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए । खेलको सातौं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।

२८ औं मिनेटमा मार्सियल रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा समेटियो । मार्सियलले लामेलालाई थप्पड हानेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए।

त्यसपछि कप्तान ह्यारी केनले २० औं गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । ३७ औं मिनेटमा सनले गोल गर्दा पहिलो हाफमा टोटेनहम ४-१ ले अघि रह्यो ।

खेलको ५१ औं मिनेटमा सर्जी अरियरले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा केनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को सानदार जित दिलाए ।

जितसँगै टोटेनहम ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।