म्यान्चेस्टर सिटीले भित्र्यायो नयाँ डिफेन्डर रुबेन डायस

एजेन्सी । म्यान्चेष्टर सिटीले पोर्चुगलका डिफेन्डर रुबेन डायसलाई औपचारिक रुपमा अनुबन्धन गरेको छ । बेन्फिकाका कप्तान रहेका डायसलाई सिटीले ६५ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो ।

सिटीले डायससंग ६ वर्षको सम्झौता गरेको छ। प्रशिक्षक पेप ग्वार्डीओलाले तेस्रो खेलाडीको रुपमा डायसलाई समर ट्रान्सफरमा अनुबन्धन गरेका हुन् ।

उनले डिफेन्डर नाथन एके र फरवार्ड फेरान टोरेसलाई क्लबमा भित्र्याएका थिए ।

‘यस्तो प्रतिभाशाली टिमको हिस्सा बन्न पाउनु र विश्व स्तरका प्रशिक्षक पेप ग्वार्डीओलाको नेतृत्वमा खेल्न पाउनु वास्तवमै रोमाञ्चक छ । जोसंग म जस्ता युवा खेलाडीलाई विकास गर्ने कीर्तिमान छ ।’ डायसले भनेका छन् ।

पोर्चुगलका एकेडेमीका खेलाडी डायसले सिनियर टिमबाट १ सय १३ खेल खेलेका छन् । उनले गत सिजन पोर्चुगलको लिग उपाधि समेत आत्मसाथ गरेका थिए । उनले पोर्चुगलको राष्ट्रिय टिमबाट १९ खेल खेलेका छन् ।

उनी पछिल्लो समय आर्सनलसंग जोडिएका थिए । तर नयाँ डिफेन्डरको खोजी गरिरहेका ग्वार्डीओलाले उनलाई गुमाउन चाहेनन् ।

उनलाई सिटीले भिसेन्ट कोम्पनीको प्रतिस्थापन मानेको छ । कोम्पनीको बर्हिगमनसंगै सिटीले गत सिजन लिगमा खासै चुनौती दिन सकेन ।