आईपीएलः दिल्लीसंग चेन्‍नई स्तब्ध,चेन्‍नई ४४ रनले पराजित

एजेन्सी । दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । यस्तै केदार जाधबले २६ रन जोड्दा शेन वाट्सन १४ र मुराली विजय १० रनमा आउट भए । कप्तान महेन्द्र सिंह धोनीले १५ तथा रबिन्द्र जडेजाले १२ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे । शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।