उपत्यकामा जोरबिजोर यथावत, व्यापार-व्यवसाय खुल्ला

काठमाडौं, ३१ भदौ । उपत्यका प्रशासनले बुधबारदेखि अर्को निर्णय नभएसम्मका लागि वार अनुसार सञ्चालन गर्ने भनिएका व्यापार-व्यवसाय नियमित रुपमा सञ्चालन गर्न पाइने निर्णय गरेको छ।

यसअघि २४ भदौमा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत रहेको छ भने खुला स्थानमा भिडभाड गर्न निषेध नै गरिएको छ ।

प्रशासनले बिहीबार एक सूचना समेत जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ ।

मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन ।

बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने छन ।