चन्द्रागिरि केवलकार असोज १ देखि सञ्चालनमा आउने

काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आउने भएको छ ।

केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरे संगै अहिले निषेधाज्ञाबाट बन्द रहेको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा आउने चन्द्रागिरी हिल्सले जनाएको छ ।

चन्द्रागिरि केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि तयारी भैरहेको छ।

८ जना अटाउने एउटा कारमा अब देखि सामाजिक दूरी कायम गर्दै ४ जना मात्रै यात्रा गर्नुपर्ने कम्पनीले नियम कायम गरेको छ । सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरिएको छ ।