सलाहको सिजनको पहिलो ह्याट्रिकमा लिभरपुलको जित

एजेन्सी। साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै जित हात पार्न संघर्ष गर्नुपर्‍यो । शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल भएको खेलको अन्तिम समयतिर सालाहले निर्णायक गोल गरेका थिए । सालाहले दुई गोल पेनाल्टीमा गरेका थिए ।

रोमान्चक बनेको खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

२० औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-२ को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।

यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।