काठमाडौं, १८ भदौ । बुधबारसम्म उकालो यात्रामा रहेको सेयर बजारमा बिहीबार झिनो अंकले गिरावट आएको छ । अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिने हल्लाका कारण सेयर बजारमा गिरावट आएको अनुमान गरिएको छ ।
बुधबार दोस्रो बजारमा ४ अर्बभन्दा बढी कारोबार भएको थियो । बिहीबार कारोबार सुरु हुने बित्तिकै केही सुधारको संकेत देखिए पनि अधिकांश समय बजार रातो देखिएको थियो ।
साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ०.१५ अंकले तल झरेको छ । नेप्से सूचक झिनो अंकले घटेर १५१०.४२ अंकमा रोकिएको छ । कारोबार रकम दुई अर्ब ६३ करोड रुपैयाँ छ । बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रोपावर र उत्पादन तथा प्रसोधनको सूचक घटेका छन् ।
अर्थमन्त्री खतिवडाको बहिर्गमनको हल्ला फैलाएर बजार बढाउने सक्रिय समूहले नै सेयर बिक्री गरेर नाफा बुक गर्न खोज्दा बजार घटेको बताइएको छ ।