केहि खुकुलो गर्दै काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता बढेको छ । याे निर्णयसंगै काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार एक हप्ताका लागि उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय भएको छ।

उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन थपिदै गएसंगै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

खाद्यवस्तु, तरकारी, दुध लगायतका पसल व्यवसाय बिहान सवा ९ बजेसम्म खुल्न दिँदै आएकामा थप केही समय खोल्न दिइने निर्णय भएको बताइएको छ।

यसअघि उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसंगै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । फेरि १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । दोस्रो चरणको निषेधाज्ञा आज मध्यरातिदेखि सकिँदै थियो।

संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।