च्याम्पियन्स लिगः रियललाई हराउँदै सिटी क्वाटरफाइनलमा

एजेन्सी । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा १३ पटकको विजेता रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदान ईतिहाद स्टेडियममा शुक्रबार राति सिटीले सहज जित निकाल्यो । समग्रमा ४–२ को नतिजा सहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।

ईतिहादमा भएको दोस्रो लेगमा रियल मड्रिडको कमजोर डिफेन्सको फाईदा उठाउँदै सिटीले सहज जित निकाल्यो ।

खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । डिफेन्सले क्लियर गर्न नसकेको बलमा ग्याब्रियल जिससको पासमा स्टर्लिङले गोल गरेका थिए ।

२८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । रोड्रिग्वोको उपलब्ध गराएको पासमा उनले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

तर दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत रह्यो । राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । भारानको ब्याकपासमा गोलकिपरलाई बिट गर्दै जिससले सिटीलाई जिततर्फ अग्रसर गराएका थिए ।