विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

काठमाडौं, ८ जेष्ठ । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघेको छ ।

विहीबार बिहानसम्म कोरोना संक्रमण विश्वका २१५ देशमा फैलिँदा संक्रमित हुने व्यक्तिको संख्या ५० लाख नाघेको हो । हालसम्म यो भाइरस ५० लाख ७९ हजार ८९६ जनामा फैलिसकेको छ । संक्रमित मध्ये २० लाख १९ हजार ९४५ निको भइसकेका छन् । २७ लाख ३० हजार ७७० जनाको हाल उपचार भइरहेको छ ।

यसमध्ये २६ लाख ८४ हजार ९७२ जनाको स्वास्थ्य अवस्था मध्यम रहेको र बाँकी ४५ हजार ७९८ संक्रमित गम्भीर रहेको छ । हालसम्म कोरोना संक्रमण भएका ३ लाख ३२ हजार १८१ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण विश्वका विकसित अमेरिका, बेलायत, इटली, स्पेन लगायत देशमा धेरै देखिएको छ ।

तर कम विकसित भनिएका अफ्रिकी देशमा यसको संक्रमण निकै कम रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । उनले कोरोना संक्रमणको महामारी फैलिन नदिन अफ्रिकी देशहरुले कसरी काम गरे विकसित देशहरुले सिक्नु पर्ने बताएका छन् ।