शाल्केमाथि डर्टमण्डको सहज जित, लिपजिग बराबरीमा रोकियो

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ।

 शनिबार भएको खेलमा डर्टमण्डले शाल्केलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।

खेलको २९ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि डर्टमण्डले थप दुई गोल गर्यो । खेलको ४८ औं मिनेटमा हाजार्डले गोल गर्दा डर्टमण्ड ३-० ले अघि रह्यो । त्यसपछि खेलको ६३ औं मिनेटमा राफेलले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४-० को सहज जित दिलाए ।

जितसँगै डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसँगको अंक दुरी १ मा झारेको छ । डर्टमण्डले २६ खेलमा ५४ अंक जोडेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक रहेको छ ।

त्यस्तै शनिबार भएको अर्को खेलमा लिपजिगले फ्रेईवर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ३४ औं मिनेटमा म्यानुएल गुल्डेले गोल गर्दै फ्रेईवर्गलाई अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा युसुफ पुल्सेनले गोल गर्दै लिपजिगलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै लिपजिगले २६ खेलबाट ५१ अंक जोडेको छ । लिपजिग तेस्रो स्थानमा रहेको छ ।

फ्रेईवर्ग ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै वुल्फवर्गले अग्स्बर्गलाई २-१ ले पराजित गर्दा हेर्था बर्लिनले होफेनहाइमलाई ३-० ले हराएको छ । फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्नले गोलरहित बराबरी खेलेका छन् ।