नेपालमा थप २ जनामा कोरोना देखियो, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं, १ बैशाख । नेपालमा आज थप २ जना कोरोना संक्रमित बिरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय एक युवक र क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी ६५ वर्षीया महिलामा एक महिलामा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले दिएको जानकारीअनुसार कैलालीकी महिलामा पुनः परीक्षण गर्दा पनि संक्रमण पाइएपछि उहाँलाई आइसोलेसनमा राखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । सदूरपश्चिम प्रदेशमा भने यो पाँचौं संक्रमण हो । कुल १४ संक्रमितमध्ये ५ जना धनगढी, ३ जना वीरगञ्ज, १ जना रौतहट, २ जना बाग्लुङ र २ जना काठमाडौंमा उपचाररत छन् । अर्का एक जना भने निको भएर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ५२ जिल्लामा र्यापिट किटबाट परिक्षण सुरु भइरहेको छ । अहिले ७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा, १ सय ३ आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै २ सय २६ जना रेड जोनमा छन् ।