हावाहुरी र चट्याङको उच्च सम्भावनाः जल तथा मौसम विभाग

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन हावाहुरी र चट्याङको सम्भावना अत्यधिक भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

महाशाखाले बुधबार विशेष बुलेटिन निकालेर उच्च वेगमा हावाहुरी र चट्याङसहित असिना पर्ने सम्भावना देखिएको उल्लेख गरेको छ। ‘६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले भनेको छ, ‘मेघगर्जन र बादल विकसित हुने क्रम पश्चिमबाट पूर्वतिर सरिरहेको छ।’

भारतको उत्तरप्रदेशबाट नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकको मध्य भूभागसम्म असर गरेको छ। उक्त प्रणाली कास्की, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँ हुँदै प्रदेश ३ को भूभागतिर आएको महाशाखाले उल्लेख गरेको छ।

चितवन, मकवानपुर, धादिङ, काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुरका क्षेत्रमा ६२ किलोमिटर प्रतिघण्टा वा सोभन्दा उच्च गतिमा हावाहुरी र चट्याङसहित असिना पानीसमेत पर्न सक्ने महाशाखाले बताएको छ। प्रि–मनुसन (मनसुन अवधिअघि) का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ।

Source: ekantipur.com