पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं, १९ चैत। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको आजै बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

नयाँ मुल्य अनुसार काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ तथा डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आन्तरिक उडान तर्फको हवाई ईन्धन प्रतिलिटर १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ । एलपी ग्यासको हालको मूल्य भने यथावत नै रहेको छ।