अडियो काण्डपछि सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

काठमाण्डौ। सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन्।

प्रतिनिधिसभाको आजको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले उनको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने प्रमुख विपक्षी दल कांग्रेसले माग गरेको छ ।