रियल मड्रिडलाई ११ औं पटक स्पेनिस सुपरकपको उपाधि

एजेन्सी । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आईतबार राति शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि हात पारेको हो ।

सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बन्यो ।

निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए ।

रियलले १० खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो ।

अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

यो संगै रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।

यो पटक प्रतियोगिता नयाँ ढाँचामा खेलाईएको थियो । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो ।

रियलले गत सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रेको फाईनल खेलेको टिम बनेपछि रियलले प्रतियोगिता खेल्न अवसर पाएको थियो ।