शताब्दी पुरुष सत्यमोहन जोशी ‘पृथ्वी प्रज्ञा’ पुरस्कारबाट सम्मानित

काठमाण्डौ। सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कारबाट शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि रु चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ । शितल निवाशमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

यसैगरी नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शन पुरस्कार प्रा डा त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाखसहित दोसल्ला र सम्मानपत्र छ ।

नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु एक लाख, दोसल्ला र सम्मानपत्र छ ।

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषासाहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरिएको थियो । उक्त पाँचवटै पुरस्कारको राशि रु एक लाख नगद, दोसल्ला र सम्मानपत्र छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७६ मा विजयी कविलाई पनि पुरस्कृत गर्नुभयो । महोत्सवमा पहिलो स्थान हासिल गर्ने धादिङका हेम प्रभासलाई रु ३५ हजार, दोस्रो स्थान हासिल गर्ने डोटीका सुभाषचन्द्र भण्डारीलाई रु २५ हजार, तेस्रो स्थान हासिल गर्ने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेतलाई २० हजार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले वाङ्मय क्षेत्रको विकासका लागि सम्मानले सहयोग गर्ने बताउनु भयो। प्रकृति र संस्कृतिसँग एकाकार गरी साहित्य सिर्जना गरेर राष्ट्रियतालाई अभिवृद्धि गर्न सकिने उनले उल्लेख गर्नुभयो।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्ने अभियान शुरु हुने जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, सदस्य सचिव जगतप्रसाद उपाध्याय, सदस्य हेमनाथ पौडेललगायतले प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारका बारेमा जानकारी गराएका थिए ।