नागरिकता विधेयक ढिलो भएकोमा सरोकारवालाको आपत्ति

काठमाडौं, २२ मंसिर । संघीय संसदको हिँउदे अधिवेशनबाट पनि नागरिकता विद्येयक पास हुनेमा शंका बढेको छ । राजधानीमा महिला, कानुन र विकास मञ्चद्धारा आइतबार आयोजित नागरिकताबाट बञ्चित व्यक्तिहरु र सांसदहरुबीचको छलफलको क्रममा सत्तारुढ नेकपाका सांसदहरुले नै आशंका व्यक्त गरेका हुन् ।

नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता प्रदान गर्ने सन्दर्भमा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा संसद अधिवेशनमा पेस हुन नसकेको नागरिकता विधेयकमा सहजै सहमति जुट्ने संभावना आफूले नदेखेको बताइन् ।

उनले नेपालीसंग विवाह गरेर आउने विदेशी नागरिक महिला वा पुरुषको हकमा ७ बर्ष पछि अंगीकृत नागरिकता प्रदान गरिने र तत्कालका लागि परिचयपत्र प्रदान गर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा नागरिकता विधेयक संसदिय समितिमा थन्किरहेको बताइन् ।

कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका सत्तारुढ दलकै सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयक संसदमा पेश हुन नसक्नुको दोष अरुलाई दिन नमिल्ने भन्दै आगामी अधिवेशनमा पेश गर्ने गरी तयारी गर्न सम्बन्धीत समितिका सभापतिलाई आग्रह गरे । उनले बाबु पत्ता नलागेका आमाले आफ्नो सन्तानलाई नागरिकता दिने विषय कुनै पनि कानुनले रोक्न नसक्ने भन्दै नागरिकताबाट बञ्चित गर्ने र नागरिकता नभएकै कारण जन्म दर्ता नगर्ने जस्ता प्रवृत्ति रोकिनुपर्ने धारणा राखे । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा एक वर्षदेखि छलफल भएपनि नागरिकता विधेयकमा सहमति जुट्न सकेको छैन । कार्यक्रम महिला, कानुन र विकास मञ्चका अध्यक्ष मिरा ढुंगानाको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।