उपनिर्वाचन २०७६ अन्तर्गत आज मतदान हुदै

काठमाडौं , १४ मंसिर। संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो ।

उपनिर्वाचन हुने स्थानमा आज बिहान ७ बजेबाटै मतदान सुरु भैसकेको छ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत दिन सक्नेछन ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।