प्रिमियर लिगमा ८ खेल हुँदै, टोटेनहमले वेष्ट ह्याम सँग खेल्दै

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज आठ खेलहरु संचालन हुँदैछ ।

प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, आर्सनल लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछ ।

नयाँ प्रशिक्षक जोसे मोरिन्होको साथ पाएको टोटेनहमले वेष्ट ह्यामसँग उसैको मैदानमा खेल्नेछ । माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मोरिन्होलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछि पहिलोपटक टोटेनहमले खेल्न लागेको हो ।

साविक विजेता सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ । सिटी र चेल्सीबीचको खेल राति ११:१५ मा सुरु हुनेछ ।

घरेलु मैदानमा सिटी चेल्सीलाई पराजित गर्दै शीर्ष दुईमा उक्लन चाहन्छ । चेल्सी पनि सिटीलाई उसैको मैदानमा स्तब्ध बनाउदै दोस्रो स्थानमा उक्लन चाहन्छ ।

लिगको चौंथो स्थानको सिटीले १२ खेलमा २५ अंक जोडेको छ । चेल्सीले १२ खेलमा २६ अंक जोडेको छ ।

लिग लिडर लिभरपुलले क्रिष्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ । क्रिष्टलको मैदानमा लिभरपुल अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छ ।

लिभरपुल १२ खेलमा ३४ अंक जोडेर शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानको लेष्टर सिटी भन्दा आठ अंकले अघि रहेको छ । लेष्टरले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ ।

यस्तै आर्सनलले घरेलु मैदानमा साउथ ह्याम्पटनसँग खेल्ने छ ।