महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं । नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५-० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५-१३ ले जितेको थियो ।

दोस्रो र तेस्रो सेटमा भने माल्दिभ्समाथि नेपालले एकतर्फी जित निकाल्यो । माल्दिभ्सको चुनौती दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो ।

योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।(खेलपाटी डटकमको सहयोगमा)