च्याम्पियन्स लिगः बार्सिलोना रोकियो, लिभरपुल नकाआउट चरण नजिक

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति आफ्नो गृहमैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले अमजोर टोली स्लाभिया प्रागसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो ।

च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् ।

बराबरी संगै ४ खेलबाट ८ अंक जोडेको बार्सिलोना पहिलो स्थानमा छ भने स्लाभिया प्राग २ अंकसहित तालिकाको अन्तिम स्थानमा छ।

त्यस्तै मंगलबार राति नै भएको अर्को खेलमा केआरसी जेन्कलाई २–१ पराजित गर्दै लिभपुरल अघिल्लो चरण नजिक पुगेको छ ।

लिभरपुललाई जित दिलाउन जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरेका थिए ।

१४ औ मिनेटमा विजनाल्डमको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । समाटाले ४० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५३ औ मिनेटमा चेम्बरलिनले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

जित संगै ४ खेलबाट ९ अंक जोड्दै समूह ई को शीर्ष स्थानमा छ । दोस्रो स्थानको नापोलीको ८ अंक छ । जेन्क एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।