प्रिमियर लिगमा किर्तिमान २ हजार गोल संगै युनाइटेडको सहज जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेडले २ वटा पेनाल्टी खेर फालेको थियो।

नर्विचको मैदानमा भएको खेलको २१ औं मिनेटमा स्कोट म्याक टोमिनीले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।

म्याक टोमिनीको गोलसँगै युनाइटेडले प्रिमियर लिगमा बिपक्षि टिमविरुद्ध २ हजार गोल पुरा गर्दै कीर्तिमान बनाएको छ । युनाइटेड लिगमा २ हजार गोल पुरा गर्ने पहिलो क्लब बनेको छ ।

खेलको २८ औ मिनेटमा नर्विचका डिफेन्डरले ड्यानियल जेम्सलाई डि-बक्स भित्र लडाएपछि युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो, तर रास्फोर्डको पेनाल्टी नर्विचका गोलकिपर क्र्युलले विफल बनाएका थिए।

स्कोटको गोलबाट अग्रता बनाएको युनाइटेडले ३० औं मिनेटमा राष्फोर्डको गोलबाट अग्रता दोब्बर बनाए । योसँगै राष्फोर्डले क्लबका लागि ५० गोल समेत पुरा गरे । उनले १८३ खेलमा क्लबका लागि ५० गोल पुरा गरेका हुन् ।

पहिलो हाल्फको अन्त्य तिर प्राप्त अर्को पेनाल्टी प्रहार गर्न आएका मार्सियलको प्रहार पनि क्र्युलले विफल बनाएका थिए। खेलको दोश्रो हाफको ७३औ मिनेटमा गोल गर्दै मार्सियलले युनाइटेडलाई ३-० को अग्रता दिलाएका थिए भने नर्विचका लागि एक मात्र सान्त्वना गोल ओ’निल हर्नान्डेजले खेलको ८८औ मिनेटमा गरेका थिए।

जित संगै युनाइटेडले १० खेलबाट १३ अंक बटुल्दै लिगको सातौं स्थानमा रहेको छ भने नर्विच १९ औ स्थानमा छ।