प्रिमियर लिगमा लेष्टर सिटीको किर्तिमानी जित, साउथह्याम्पटन ९-० ले पराजित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले किर्तिमानी जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा लेष्टरले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

लेष्टरको जितमा जेमी भर्डीले ४५, ६८ र ९० मिनेट तथा परेजले १९, ३९ र ५७ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए भने चिलवेल, टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल थपेका थिए।

खेलको १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

यो फराकिलो जितसँगै लेष्टरले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको छ । प्रिमियर लिगमा पछिल्लो २४ वर्षपछि पहिलोपटक ९-० को जित निस्किएको हो ।

यो जितसँगै लेष्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । १० खेलबाट लेष्टरले २० अंक जोडेको छ । १८ औं स्थानको साउथह्याम्पटनको ८ अंक रहेको छ ।