युरोपा लिगः आर्सनल र म्यानचेष्टर युनाइटेडको जित

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत गएराती सम्पन्न खेलमा इन्ग्लिस क्लब आर्सनल र म्यानचेष्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेका छन ।

समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्ट्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

यस्तै समूह चरण अन्तर्गत बिहिबार राति भएको समूह ‘एल’को खेलमा युनाइटेडले सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई १-० गोल अन्तरले हराएको छ ।

बेलग्रेडको मैदानमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा मार्सियलले पेनाल्टीमा गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो ।

जितसँगै समूह ‘एल’ मा रहेको युनाइटेडले ३ खेलबाट ७ अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानमा रहेको छ । पराजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

इमिरेट्स स्टेडियममा खेलको आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिक्टोरियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

खेलको ३६ औं मिनेटमा ब्रुनोले गोल गर्दै पुनः भिक्टोरियालाई २-१ को अग्रता दिलाए । त्यसपछि आर्सनलका पेपे नायक बने । खेलको ८० औं मिनेटमा पेपेले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।

जितसँगै समूह ‘एफ’ को आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।