फिफा बरियतामा नेपाल ६ स्थान तल झर्दै १६७औं स्थानमा

फिफाको नयाँ बरियतामा नेपाल ६ स्थान तल झरेको छ । यसअघि १६१औं स्थानमा रहेको नेपाल नयाँ बरियताअनुसार १६७औं स्थानमा पुगेको छ ।

विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार बेहोर्दा नेपाल बरियता पनि तल झरेको हो । दक्षिण एसियाली देशमा नेपालभन्दा माथि रहेको माल्दिभ्स १ स्थान तल झर्दै १५४औं स्थानमा पुगेको छ । भारत पनि २ स्थान तल झर्दै १०६औं स्थानमा छ ।

यस्तै नेपालभन्दा मुनि रहेको बंगलादेशले ३ स्थान सुधार्दै १८४औं स्थानमा पुर्‍यायो । भुटान १८९औं स्थानमा पुग्यो भने पाकिस्तानले २ स्थान सुधार्दै २०१औं स्थानमा आफूलाई राख्न सफल भएको छ । यस्तै श्रीलंका १ स्थान खस्कँदै २०३औं स्थानमै चित्त बुझाउन पुग्यो ।

पछिल्लो खेलमा नेपाल अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो । विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावतै छ ।