महरालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ ।बिहीबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागी म्याद थपको अनुमति दिएको हो ।

यसअघि प्रहरीले महरामाथि लागेको मुद्दामा पर्याप्त अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा उपस्थीत गराइएको थियो ।

अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र गत आइतबार पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि जवरजस्ती करणी गरेको आरोपमा महरालाई बालुवाटारस्थित सरकारी निवासबाट १९ असोजमा प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पुगेर महराबिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।