आज र भाेलि ५ वर्षमुनिका बाल-बालिका लाई भिटामिन ‘ए’ खुवाइदै

काठमाडौं, २ कार्तिक । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा आज र भाेलि कार्यक्रम सञ्चलन हुँदैछ।

कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), छ महीनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ। स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए।

मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ। ती कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ। ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो। विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए। उनले भने, “भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ।”