ससर्त फुकुवा भयो नेपाल क्रिकेट संघको निलम्बन

२७ असोज, काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन ससर्त फुकुवा गरेको छ । आइतबार र सोमबार बसेको आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरे पनि विज्ञप्तिमा सर्तबारे केही उल्लेख गरिएको छैन ।

‘दुबईमा सकिएको आईसीसी बोर्डको बैठकले जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ,’ आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आईसीसीले क्यानको प्रगतिलाई ध्यानमा राख्दै सदस्यता प्रदान गरेको बताएको छ ।

‘नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाललाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र एउटा योजना तयार गरिनेछ’, आईसीसीका चियरम्यान सशांक मनोहरले भनेका छन्, ‘जसमा वित्तीय कोष पनि समावेश हुनेछ।’

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बन गरेको थियो ।

त्यसपछि आईसीसीकै प्रत्यक्ष संग्लग्नतामा गठन गरिएको सल्लाहकार समिति र स्वतन्त्र समितिको मातहत जिल्ला, प्रदेश र असोज ३ गते केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो ।