इक्वेडरको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इक्वेडरमाथि ६–१ गोल अन्तरको सानदार जित हात पारेको छ । लियोनल मेस्सीबिना मैदान उत्रिएको अर्जेन्टिनाले २० औं मिनेटमा अग्रता लिएको थियो । २० औँ मिनेटमा लुकास एलरियोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

इक्वेडरका जोन जायरोले आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले २७ औं मिनेटमा अग्रता दोब्बर बनायो । लियानार्दो पेडरेसले ३३ औँ मिनेटमा गोल गर्दै ३-० को अग्रता बनाएका थिए । पहिलो हाफमा ३ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप ३ गोल गरेको थियो भने एक गोल खान पुग्यो ।

एन्जेल डिलगाडोले ४९ औँ मिनेटमा गोल गर्दै इक्वेडरलाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर जर्मेन पेजलाले ६६ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिना ४–१ गोल अन्तरले अघि बढेको थियो ।

लगातार इक्वेडरमाथि दबाब बनाएको अर्जेन्टिना यतिमा रोकिएन । ८२ औं मिनेटमा निकोलस डोमिगेजले टिमका लागि पाँचौँ र लुकासले ८६ औँ मिनेटमा छैटौँ गोल गरेका थिए ।