साउथ अफ्रिकालाई हराउदै भारतले जित्यो किर्तिमानी टेष्ट सिरिज

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिज भारतले जितेको छ ।

पुनेमा आईतबार दोस्रो टेष्टमा दक्षिण अफ्रिकालाई एक इनिङ्स १ सय ३७ रनले पराजित गर्दै भारतले सिरिजमा कब्जा जमाएको हो ।

यस सिरिज जितेसँगै भारतले घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्दै कीर्तिमान बनाएको छ । भारत घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्ने पहिलो टिम बनेको छ ।

पुनेमा भारतविरुद्ध फलो अनमा परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा पनि उच्च प्रदर्शन गर्न सकेन् । पहिलो इनिङ्समा २७५ रनमा समेटिएको दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १८९ रन जोड्दा अलआउट भयो ।

दक्षिण अफ्रिकाका डिन एल्गरले ४८ रनको योगदान दिएपनि दक्षिण अफ्रिकाले भारतले पहिलो इनिङ्समा बनाएको रन भेट्टाउन सकेन । यस्तै टेम्बा बाभुमाले ३८, भेर्नोन फिलान्डर ३७ तथा केशव माहाराजले २२ रन बनाए ।

पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका रविन्द्र जडेजा र उमेश यादवले समान ३/३ विकेट हात पारे । यस्तै रविचन्द्र आश्विनले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ५ विकेटको क्षतिमा ६०१ रन जोडेको थियो। भारतका लागि कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका थिए ।

कोहलीले अविजित रहदै २५४ रनको योगदान गरे । यस्तै मायांक अग्रवालले १०८ रनको शतकीय इनिङ्स खेले । रबिन्द्र जडेजाले ९१ तथा अजिन्का रहानेले ५९ रन बनाए ।

दोस्रो टेष्ट जितेसँगै भारतले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । यसअघि भएको पहिलो टेष्टमा भारतले २०३ रनको फराकिलो जित हात पारेको थियो ।